चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं: चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल ले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली समृद्धि’ निर्माणमा सहकार्य गर्न आह्वान गरेका छन्।

बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको लगानी सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालमा लगानीका प्रशस्त अवसर रहेको र सरकार व्यवसायमैत्री वातावरण निर्माणमा प्रतिबद्ध रहेको बताएका हुन्।

सम्मेलनमा चिनियाँ व्यवसायी तथा लगानीकर्तासँग छलफल हुनुका साथै नेपाल लगानी बोर्ड का प्रतिनिधिले नेपालका लगानी सम्भावनाबारे प्रस्तुतीकरण गरेका थिए।

भ्रमणका क्रममा मन्त्री खनालले वाङ हुनिङ सँग भेटवार्ता गर्दै नेपाल–चीन सम्बन्ध र आपसी सहकार्यका विषयमा छलफल गरेका छन्। उनले बेइजिङस्थित अरनिकोद्वारा डिजाइन गरिएको श्वेत स्तूपको अवलोकन समेत गरेका थिए।

मन्त्री खनालले चिनियाँ तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग अन्तरक्रिया गर्दै नेपाल–चीन सम्बन्ध, नेपालको परराष्ट्र नीति र सरकारका प्राथमिकताबारे धारणा राखेका छन्।

चीनका विदेशमन्त्री वाङ यी को निमन्त्रणामा चीन पुगेका खनाल बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।