मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि ४१ करोड बजेट

काठमाडौं: कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणलाई सरकारले प्राथमिकतामा राखेको बताएकी छन्।

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उनले वन्यजन्तुबाट प्रभावित समुदायलाई सहयोग गर्न विशेष कार्यक्रम तथा बजेटको व्यवस्था गरिएको जानकारी दिएकी हुन्।

उनका अनुसार आगामी आर्थिक वर्षमा पहिलोपटक ‘मानव–वन्यजन्तु सहअस्तित्व’ शीर्षकमा छुट्टै बजेट राखिएको छ। मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन कार्यक्रम सञ्चालनका लागि ४१ करोड ११ लाख रुपैयाँ विनियोजन गरिएको मन्त्री चौधरीले बताइन्।

वन तथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र वन्यजन्तुको बासस्थान सुधार, आहार व्यवस्थापन, वैकल्पिक खेती प्रणाली र इको–टुरिजम प्रवर्द्धनमार्फत स्थानीय समुदायको आयआर्जन र जीविकोपार्जनमा सुधार ल्याउने कार्यक्रम सञ्चालन गरिने उनले बताइन्।
हेडलाइन: मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि ४१ करोड बजेट।