दुर्गम क्षेत्रका समस्या सम्बोधन गर्न बजेट पुनरावलोकनको माग

काठमाडौं: रास्वपा सांसद इन्दिरा राना मगर ले दुर्गम तथा संकटग्रस्त क्षेत्रका नागरिकका समस्या समाधानमा केन्द्रित भएर बजेट पुनरावलोकन गर्न सरकारसँग आग्रह गरेकी छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले लाई झापा मात्र नभई जुम्ला, हुम्लालगायत विकट जिल्लाका जनताको आवश्यकता सम्बोधन हुने गरी बजेट परिमार्जन गर्न अनुरोध गरेकी हुन्।

उनले सडक पहुँचको अभावका कारण नागरिकले दैनिक जीवनमा ठूलो जोखिम व्यहोर्नुपरेको उल्लेख गर्दै यस्ता समस्याको समाधानका लागि आवश्यक बजेट छुट्याउन ढिलाइ गर्न नहुने बताइन्। इलामको बतासे हुँदै मदन भण्डारी राजमार्ग जोड्ने सडक योजना बजेटमा नसमेटिएकोप्रति उनले असन्तुष्टि जनाइन्।

उक्त सडक निर्माण भए करिब ५०० घरधुरीलाई प्रत्यक्ष लाभ पुग्ने र फिक्कल हुँदै दुई घण्टा लाग्ने यात्रा आधा घण्टामै पूरा गर्न सकिने उनको भनाइ थियो। जनतासँग प्रत्यक्ष सरोकार राख्ने यस्ता महत्वपूर्ण योजना बजेटमा नपरेको देख्दा आफू छक्क परेको उनले बताइन्।