रास्वपा महाधिवेशनमा सीके राउतले गरे प्रधानमन्त्री शाहको खुलेर प्रशंसा

काठमाडौं: जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलेप्रधानमन्त्री बालेन शाहको कार्यशैली र व्यक्तित्वको खुलेर प्रशंसा गरेका छन्।

चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनलाई आइतबार सम्बोधन गर्दै उनले प्रधानमन्त्री शाहलाई ‘अलग लेभलका बन्दा’ भन्दै उनको नेतृत्व क्षमताको प्रशंसा गरेका हुन्।

राउतले प्रधानमन्त्री शाह स्मार्ट, ड्यासिङ, बौद्धिक र स्टाइलिस व्यक्तित्व भएको उल्लेख गर्दै उनी युवा तथा लोकप्रिय नेता भएको बताए।

उनले विश्वप्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको भनाइ उद्धृत गर्दै शाहले परम्परागत सोचभन्दा माथि उठेर समस्याको समाधान खोज्ने क्षमता राखेको दाबी गरे।

उनले रास्वपाको महाधिवेशनलाई उनले ‘क्रान्तिको महोत्सव’ को संज्ञा दिए। साथै, रास्वपा सभापति रबि लामिछानेको त्याग र योगदानको प्रशंसा गर्दै सहभागीहरूलाई ताली बजाउन आग्रह गरे।

राउतले लामिछानेसँगको आफ्नो पुरानो सम्बन्ध स्मरण गर्दै २०७४ सालमा सप्तरीमा आएको बाढीका बेला पहिलो भेट भएको बताए। त्यसबेला दुवै जना जनताको सेवामा सक्रिय रहेको उनको भनाइ थियो।

राउतले विगतमा किसान आन्दोलन, ‘राइट टु रिकल’ र ‘नो भोट’ जस्ता एजेन्डा अघि सारेको स्मरण गर्दै अहिले जनताले रास्वपालाई ठूलो विश्वास दिएको बताए। उनले उक्त विश्वासलाई सही ढंगले सदुपयोग गर्न रास्वपाका नेता–कार्यकर्तालाई आग्रह पनि गरे।