काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन निर्धारित समयभन्दा एक दिन बढी सञ्चालन हुने भएको छ।
रास्वपाका प्रवक्ता मनिष झाले सोमबार साँझ महाधिवेशनको कार्यतालिका संशोधन गरिएको जानकारी दिएक हुन्।
महाधिवेशन अब असार १० गते बुधबारसम्म चल्ने जनाएको छ।
प्रवक्ता झालेका अनुसार प्रतिनिधि सम्बन्धी विवाद समाधानमा ढिलाइ भएपछि सोमबार सुरु हुने भनिएको बन्दसत्र सञ्चालन हुन सकेन।
बन्दसत्र समयमै सुरु हुन नसकेपछि सोमबारका कार्यक्रम स्थगित गरी मंगलबारका लागि सारिएको छ। यसले महाधिवेशनको समग्र तालिकामा प्रभाव पारेकाले अवधि थप्नुपरेको पार्टीको भनाइ छ।
यसअघि आइतबारदेखि सुरु भएको महाधिवेशन तीन दिनसम्म सञ्चालन हुने तय गरिएको थियो। उद्घाटन सत्र सम्पन्न भए पनि बन्दसत्र ढिलो सुरु हुने अवस्था बनेपछि महाधिवेशन बुधबारसम्म लम्बिएको हो।
महाधिवेशनमा पार्टीको आगामी कार्यदिशा, संगठन सुदृढीकरण तथा विभिन्न प्रस्तावमाथि छलफल हुने कार्यक्रम रहेको छ।


















