ताप्लेजुङ: लगातारको वर्षासँगै आएको बाढी र पहिरोले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा जनधनको क्षति पुर्याएको छ।
पहिरोका कारण दुई घर प्रभावित भएका छन् भने सावाँ खोलामा आएको बाढीले अलैँची बगान बगाएको छ।
फक्ताङलुङ गाउँपालिका–१ मा दुर्गा कटुवाल र गणेश कटुवालको घर पहिरोबाट क्षतिग्रस्त भएको वडा अध्यक्ष यज्ञप्रसाद लिम्बूले जानकारी दिए। उनका अनुसार दुर्गा कटुवालको घरमा बस्दै आएका नरेन्द्र लिम्बूको गोठ समेत पहिरोले बगाएको छ।
पहिरोसँगै गोठमा रहेका बाख्रासहित केही पशुचौपाया पनि बगेका छन्। प्रभावित दुवै घर अहिले बस्न नमिल्ने अवस्थामा पुगेकाले परिवारहरू सुरक्षित स्थानतर्फ सर्ने तयारीमा रहेका छन्।
अविरल वर्षापछि उर्लिएको सावाँ खोलाले आसपासका किसानका अलैँची बगानमा क्षति पुर्याएको छ। बाढीले बगान कटान गर्नुका साथै उत्पादनमा समेत असर पर्ने स्थानीयको भनाइ छ।
यसैगरी मेरिङ्देन र मिक्वाखोला गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरू पनि वर्षा र बाढीबाट प्रभावित भएका छन्। यद्यपि क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको छ।
स्थानीय तह र सरोकारवाला निकायले प्रभावित क्षेत्रको अनुगमन तथा क्षतिको विवरण संकलन गरिरहेका छन्।


















