शेयर बजारमा गिरावट: नेप्से ओरालो, म्युचुअल फन्डबाहेक सबै समूह घटे

काठमाडौं: सेयर बजारमा मंगलबार गिरावट देखिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६.१६ अंकले घटेर दुई हजार ६ सय ७४.४८ बिन्दुमा कायम भएको हो।

यससँगै ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.५० प्रतिशतले घटेको छ।
कारोबार रकमसमेत अघिल्लो दिनको तुलनामा घटेको छ।

मंगलबार चार अर्ब ३६ करोड २१ लाख ९४ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ। सोमबार भने चार अर्ब ४४ करोड ६५ लाख २० हजार रुपैयाँको कारोबार भएको थियो। यस दिन ३५३ कम्पनीका एक करोड ४० हजार कित्ता सेयर खरिदबिक्री भएका छन्।

नेप्सेमा सूचीकृत १३ समूह मध्ये म्युचुअल फन्ड समूह मात्र ०.४५ प्रतिशतले बढेको छ भने बाँकी १२ समूह ओरालो लागेका छन्। वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, निर्जीवन बिमा तथा व्यापार समूहमा एक प्रतिशतभन्दा बढी गिरावट देखिएको छ।

बजार समग्रमा घटे पनि केही कम्पनीका लगानीकर्ताले उल्लेख्य नाफा कमाएका छन्। टक्सार पिखुवा र यम्बलिङ हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यसैगरी लक्ष्मी उन्नती कोष, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम र सनराइज ब्लुचिप फन्डको मूल्य पाँच प्रतिशतभन्दा बढीले बढेको छ।

अर्कोतर्फ, बुंगल हाइड्रोको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। एपोलो हाइड्रो, सोपान फर्मास्युटिकल्स र कालिन्चोक हाइड्रोका लगानीकर्ताले क्रमशः ११ प्रतिशत, ७ प्रतिशत र ५ प्रतिशतभन्दा बढी नोक्सानी बेहोरेका छन्।

मंगलबार कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा आँखुखोला जलविद्युत कम्पनी अग्रस्थानमा रहेको छ। कम्पनीको नौ लाख १३ हजार ६५० कित्ता सेयर ३४ करोड १६ लाख २९ हजार रुपैयाँमा कारोबार भएको छ।