काठमाडौं: काठमाडौंमा रेबिजका कारण एक जनाको मृत्यु भएको छ।
समयमै खोप नलगाउँदा चन्द्रागिरि नगरपालिकाका ४८ वर्षीय पुरुषको उपचारका क्रममा शनिबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मृत्यु भएको हो।
अस्पतालका अनुसार मृतकलाई करिब चार महिनाअघि कुकुरले टोकेको थियो। तर उनले रेबिजविरुद्धको खोप नलगाएकाले संक्रमण बढ्दै गएपछि उपचारका क्रममा ज्यान गएको हो।
रेबिजविरुद्धको खोप अभाव देशभरका अस्पतालमा देखिएको स्वास्थ्यकर्मीहरू बताउछन्। सरकारले समयमै खोप आपूर्ति गर्न नसक्दा र खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा रेबिज नियन्त्रणमा चुनौती थपिएको विज्ञहरु औलाएका छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको तथ्यांकअनुसार पछिल्लो पाँच वर्षमा रेबिजका कारण ५५ जनाको मृत्यु भएको छ। सन् २०२४ मा मात्रै १९ जनाले ज्यान गुमाएका छन्।
सरकारले सन् २०३० सम्म कुकुरबाट सर्ने रेबिजका कारण हुने मानव मृत्युदर शून्यमा झार्ने लक्ष्य लिएको छ। तर खोप अभावका तथा रोकथामका कार्यक्रम प्रभावकारी हुन नसक्दा लक्ष्य प्राप्तिमा चुनौती थपिएको छ।


















