रास्वपा पदाधिकारी निर्वाचनको मतदान सम्पन्न, १२८९ मत खस्यो

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी चयनका लागि भएको मतदान सम्पन्न भएको छ।

निर्वाचन समितिका अनुसार पदाधिकारीका लागि भएको निर्वाचनमा कुल एक हजार २८९ मत खसेको हो।

यसअघि केन्द्रीय सदस्य चयनका लागि भएको मतदानमा दुई हजार ९५९ मत खसेको थियो। तर पदाधिकारी निर्वाचनमा भने मतदाताको सहभागिता उल्लेख्य रूपमा घटेको देखिएको छ। केन्द्रीय सदस्य निर्वाचनको तुलनामा एक हजार ६७० कम प्रतिनिधिले पदाधिकारीका लागि मतदान गरेका छन्।

पाँच पदाधिकारी चयनका लागि भएको निर्वाचनको मतपरिणाम आजै सार्वजनिक गरिने जनाइएको छ। रास्वपाले असार ७ गतेदेखि सञ्चालन गरेको महाधिवेशन पनि आजै समापन गर्ने तयारी गरेको छ।