धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका–१७ का १० वर्षीय बालक तनुज चौधरीको हत्या भएको आशंकामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
प्रहरीका अनुसार बुधबार दिउँसो घरबाट साइकल चढेर निस्किएका तनुज साँझसम्म घर नफर्किएपछि परिवारले खोजी थालेका थिए। पछि उनको शव कालिका सामुदायिक वन क्षेत्रमा फेला परेको थियो।
घटनास्थलको अवस्था र प्रारम्भिक अनुसन्धानका आधारमा बालकको हत्या गरिएको हुन सक्ने निष्कर्षमा प्रहरी पुगेको छ। बालकले कानमा लगाएको सुनको मुन्द्रा लुट्ने उद्देश्यले हत्या गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले बालकका एक साथीसहित चार जनालाई नियन्त्रणमा लिएको छ भने एक जना व्यक्ति फरार रहेको बताइएको छ। पक्राउ परेकामाथि सोधपुछ तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको वास्तविक कारण र संलग्न व्यक्तिको पहिचानका लागि अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ।


















