भारी वर्षाको जोखिमपछि मनाङमा रात्रिकालीन सवारी सञ्चालनमा रोक

काठमाडौं: भारी वर्षा र चट्याङको सम्भावनालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय मनाङले असार १६ र १७ गते चामे–बेंसीशहर सडकखण्डमा रात्रिकालीन सवारी आवागमनमा प्रतिबन्ध लगाएको छ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार ती दिन मेघगर्जनसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने भएकाले यात्रु र सवारी साधनको सुरक्षाका लागि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार यस्तो व्यवस्था गरिएको हो।

प्रमुख जिल्ला अधिकारी नवराज पौड्याल ले जारी गरेको सूचनाअनुसार:- चामे–३ कोतोदेखि बेंसीशहर जाने सवारी साधनको अन्तिम छुट्ने समय बेलुका ४ बजे तोकिएको छ। यसैगरी, नासों–१ तालडाँडा चौकीदेखि बेंसीशहर जाने सवारी साधनको अन्तिम छुट्ने समय बेलुका ५:३० बजे निर्धारण गरिएको छ।

प्रशासनले तोकेको समयपछि कुनै पनि सार्वजनिक, निजी वा सरकारी सवारी साधन सञ्चालन गर्न पाइने छैन। रोकिएका सवारी साधनले भोलिपल्ट बिहान ५ बजेपछि मात्र यात्रा सुरु गर्न पाउनेछन्।