ललितपुर: देशभर मनसुन सक्रिय हुन ढिलाइ हुँदा किसानले धान रोपाइँका बेला पानी अभावको समस्या भोगिरहेका छन्।
कृषि उत्पादनको आधार मानिने सिँचाइ पूर्वाधार विस्तारको लक्ष्य पनि अपेक्षाअनुसार पूरा हुन नसकेको देखिएको छ।
आवश्यक सिँचाइ क्षेत्रको झन्डै ३७ प्रतिशत भाग अझै सुविधाबाहिर रहेकाले ठूलो क्षेत्रफलको खेती वर्षामै निर्भर छ। सिँचाइ तथा जलस्रोत विभागका अनुसार नेपालमा कुल ३५ लाख ५७ हजार ७६४ हेक्टर खेतीयोग्य जमिन छ। तीमध्ये २५ लाख ३६ हजार ३१९ हेक्टर क्षेत्रमा नियमित सिँचाइ आवश्यक पर्ने भए पनि हालसम्म १५ लाख ९० हजार ३८८ हेक्टर जमिनमा मात्र सिँचाइ सुविधा पुगेको छ। यो कुल आवश्यक क्षेत्रको ६२.६८ प्रतिशत हो।
पर्याप्त वर्षा नहुँदा विभिन्न जिल्लाका किसानले रोपाइँका लागि पानीको अभाव झेलिरहेका छन्। कतिपय स्थानमा ब्याडमा राखिएको धानको बीउ सुक्न थालेको छ भने धेरै किसान अझै मनसुनको भरमा खेत तयारी गरिरहेका छन्।
समयमै पानी नपरे धान उत्पादनमा प्रत्यक्ष असर पर्ने कृषि क्षेत्रका जानकारहरूको भनाइ छ। सिँचाइ तथा जलस्रोत विभागका सूचना अधिकारी रामप्रसाद पौडेल का अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा १६ हजार ३०८ हेक्टर क्षेत्रमा थप सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्यसहित विभिन्न आयोजना सञ्चालन गरिएको थियो।
चालु आर्थिक वर्ष २०८२/८३ मा छ हजार ७५० हेक्टर क्षेत्रमा नयाँ सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिएको भए पनि चैत मसान्तसम्म चार हजार ४८ हेक्टर क्षेत्रमा मात्रै सुविधा विस्तार भएको विभागले जनाएको छ। आन्दोलन र केही आयोजना कटौतीका कारण लक्ष्यअनुसार काम अघि बढ्न नसकेको विभागको भनाइ छ।
विभागका अनुसार कृषि उत्पादन बढाउन, खाद्य सुरक्षा सुनिश्चित गर्न तथा जलवायु परिवर्तनका चुनौती सामना गर्न दीर्घकालीन र भरपर्दो सिँचाइ प्रणालीको विकास अपरिहार्य छ। तर सिँचाइ विस्तारको गति सुस्त रहँदा किसान अझै पनि आकाशे पानीको भरमा खेती गर्न बाध्य छन्।
विशेषगरी धान उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने सरकारी लक्ष्य पूरा गर्न सिँचाइ पूर्वाधारको विस्तार, सञ्चालन र व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ।


















