काठमाडौं: त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) अन्तर्गत अध्ययनरत एमबीबीएस तथा बीडीएसका विद्यार्थीहरूले शैक्षिक र परीक्षा प्रणालीमा सुधारको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
लामो समयदेखि लागू हुँदै आएको पाठ्यक्रम र परीक्षा प्रणालीले विद्यार्थीमाथि अतिरिक्त मानसिक दबाब सिर्जना गरेको तथा शैक्षिक अन्याय बढाएको भन्दै उनीहरूले तत्काल सुधारको माग गरेका हुन्।
प्रदर्शनमा सहभागी विद्यार्थीहरूले ६ बुँदे माग अघि सार्दै चिकित्सा शिक्षालाई समयानुकूल र विद्यार्थीमैत्री बनाउनुपर्ने बताएका छन्। उनीहरूको प्रमुख मागमा १९ वर्ष पुरानो पाठ्यक्रम तथा परीक्षा प्रणालीको पुनरावलोकन, ‘ब्याच ड्रप’ प्रणालीको खारेजी तथा परीक्षामा वस्तुगत र विषयगत दुवै प्रकारका प्रश्न समावेश गर्ने व्यवस्था रहेका छन्।
त्यसैगरी, परीक्षाको तालिका व्यावहारिक बनाउन, तयारीका लागि पर्याप्त समय दिन, पहिलो वर्षमा आठ पटक र दोस्रो वर्षमा छ पटकसम्म परीक्षा दिने अवसर उपलब्ध गराउन तथा परीक्षामा प्रयासको संख्या बढाउनुपर्ने माग पनि विद्यार्थीहरूले गरेका छन्।
विद्यार्थीहरूका अनुसार हालको परीक्षा प्रणालीले मानसिक स्वास्थ्यमा प्रतिकूल असर पार्नुका साथै अध्ययनको निरन्तरता र समय व्यवस्थापनमा समेत समस्या उत्पन्न गरिरहेको छ। उनीहरूले गुणस्तरीय चिकित्सा शिक्षा सुनिश्चित गर्न विद्यार्थीको हितलाई केन्द्रमा राखेर शैक्षिक सुधार गर्नुपर्ने बताएका छन्।
प्रदर्शनका क्रममा विद्यार्थीहरूले सम्बन्धित निकायलाई आफ्ना मागप्रति गम्भीर हुन आग्रह गर्दै परीक्षा प्रणालीलाई वैज्ञानिक, व्यवहारिक र विद्यार्थीमैत्री बनाउन तत्काल पहल गर्नुपर्ने बताएका छन्।



















