काठमाडौं: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार सातौं कारोबार दिन घट्दै ६ महिनायताकै न्यून बिन्दुमा पुगेको छ।
मंगलबार नेप्से २४.६३ अंकले घटेर २६०८.०५ बिन्दुमा कायम भएको हो।
यो स्तर गत पुस ९ यताकै सबैभन्दा न्यून हो। पछिल्ला सात कारोबार दिनदेखि बजारमा निरन्तर गिरावट देखिएको छ। यसअघि सोमबार पनि नेप्से १६.५४ अंकले घटेको थियो।
मंगलबार कारोबार रकम भने बढेको छ। अघिल्लो दिन २ अर्ब ६७ करोड रुपैयाँको कारोबार भएकोमा आज ३ अर्ब २५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
आजको कारोबारमा ३५ कम्पनीको सेयर मूल्य बढ्दा २३५ कम्पनीको मूल्य घटेको छ। पाँच कम्पनीको मूल्यमा भने कुनै परिवर्तन भएन। बजारमा बिक्री दबाब हाबी हुँदा सबै उपसमूहका सूचक राताम्मे बने।
व्यापार समूह सबैभन्दा बढी १.७४ प्रतिशतले घट्दा जलविद्युत् १.४३ प्रतिशत, अन्य १.३१ प्रतिशत, उत्पादन तथा प्रशोधन १.२० प्रतिशत र फाइनान्स समूह १ प्रतिशतले ओरालो लागे। बैंकिङ, होटल तथा पर्यटन, लगानी, बीमा र माइक्रोफाइनान्स समूहमा पनि गिरावट देखिएको छ।
लगातारको गिरावटसँगै बजारमा लगानीकर्ताको मनोबल कमजोर बनेको देखिएको छ। कारोबार रकम बढे पनि बजारले भने अझै सुधारको संकेत दिन सकेको छैन।



















