काठमाडौं: गायक यम बरालमा रक्त क्यान्सरको एक प्रकार ‘मल्टिपल माइलोमा’ पुष्टि भएको छ।
हाल उनको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
चिकित्सकका अनुसार करिब एक महिनादेखिको उपचार र विभिन्न परीक्षणपछि बरालमा मल्टिपल माइलोमा भएको पुष्टि भएको हो।
मल्टिपल माइलोमा हड्डीको मज्जामा रहेका प्लाज्मा कोषहरूमा हुने क्यान्सर हो। सामान्य अवस्थामा यी कोषहरूले शरीरलाई संक्रमणबाट जोगाउन आवश्यक एन्टिबडी उत्पादन गर्छन्। तर रोग लागेपछि असामान्य प्लाज्मा कोषहरू अनियन्त्रित रूपमा बढ्न थाल्छन् र स्वस्थ रक्त निर्माण गर्ने कोषहरूलाई असर पुर्याउँछन्।
यसका कारण शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने, रक्तअल्पता, हड्डी दुख्ने तथा मिर्गौलासम्बन्धी समस्या देखिन सक्ने चिकित्सकहरू बताउँछन्।
मल्टिपल माइलोमाको उपचार रोगको अवस्था र बिरामीको स्वास्थ्यका आधारमा तय गरिन्छ। उपचारमा केमोथेरापी, लक्षित थेरापी, जैविक (इम्युनो) थेरापी, कोर्टिकोस्टेरोइड, विकिरण उपचार तथा आवश्यकताअनुसार स्टेम सेल प्रत्यारोपण गरिन्छ।
हाल बरालको स्वास्थ्य अवस्था चिकित्सकहरूको निगरानीमा रहेको र उपचार प्रक्रिया जारी रहेको अस्पताल स्रोतले जनाएको छ।


















