गुनासा समयमै सम्बोधन गर्न मन्त्रीद्वयको निर्देशन

काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सञ्चालित ‘हेलो सरकार’ शाखाको निरीक्षण गर्दै गुनासा समयमै सम्बोधन गर्न निर्देशन दिएका छन्।

बुधबार मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहसँगै हेलो सरकार पुगेका मन्त्रीद्वयले गुनासो व्यवस्थापन प्रणाली, सेवा प्रवाह र उजुरी फर्छ्योटको अवस्थाबारे जानकारी लिएका थिए।

उनीहरूले नागरिकका गुनासाप्रति संवेदनशील भएर काम गर्न कर्मचारीलाई निर्देशन दिँदै सम्बन्धित मन्त्रालयहरूले प्राप्त उजुरीको शीघ्र सम्बोधन गर्नुपर्नेमा जोड दिए। मन्त्रालयसँग सम्बन्धित गुनासो छिटो समाधान गर्न समन्वय संयन्त्रलाई थप प्रभावकारी बनाइने उनीहरूको भनाइ थियो।

मन्त्रीद्वयले हेलो सरकारमा बढ्दो गुनासो दर्ताले सरकारप्रति नागरिकको विश्वास बढेको संकेत गर्ने उल्लेख गर्दै गुनासो व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार शासकीय सुधारसम्बन्धी सयदिने कार्ययोजनाअनुसार हेलो सरकार सेवा हाल चौबीसै घण्टा सञ्चालनमा छ। बहुच्यानल प्रणाली, आधुनिक प्रविधि र मन्त्रालयहरूसँगको एकीकृत समन्वयमार्फत सेवा थप प्रभावकारी बनाउने काम भइरहेको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार आगामी दिनमा कृत्रिम बौद्धिकता (एआई)मा आधारित प्रणालीमार्फत गुनासा दर्ता, सम्बन्धित निकायमा स्वचालित रूपमा पठाउने तथा सेवाग्राहीलाई गुनासोको प्रगति अवस्थाबारे नियमित जानकारी दिने व्यवस्था लागू गर्ने तयारी छ।

प्रधानमन्त्री कार्यालयका तथ्यांकअनुसार असार २४ सम्म हेलो सरकारमा एक लाख ३१ हजार ८७५ वटा गुनासा तथा उजुरी दर्ता भएका छन्। तीमध्ये करिब ७० प्रतिशत फर्छ्योट भइसकेका छन्। साथै, वर्तमान सरकार गठन भएको गत चैत १३ यता गुनासा दर्ता ८३८ प्रतिशत र फर्छ्योट ९७५ प्रतिशतले वृद्धि भएको कार्यालयले जनाएको छ।