काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले आफूले महामन्त्री पदको उम्मेदवारी मन्त्री बन्ने सहमतिका कारण नभई पार्टीको एकता र आन्तरिक सुदृढीकरणका लागि फिर्ता लिएको बताएका छन्।
संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले मन्त्री पदको आश्वासनमा उम्मेदवारी फिर्ता लिएको भन्ने चर्चा निराधार रहेको जिकिर गरे।
पार्टीको पहिलो महाधिवेशनमा संस्थापक महामन्त्रीका रूपमा आफ्नो दाबी स्वाभाविक भए पनि धेरै आकांक्षी देखिएकाले संगठनलाई एकढिक्का बनाउन आफूले उम्मेदवारी फिर्ता लिएको उनको भनाइ थियो।
‘पार्टी अझ सशक्त र वृहत् बनोस् तथा देश निर्माणमा प्रभावकारी भूमिका खेलोस् भन्ने उद्देश्यले मैले उम्मेदवारी फिर्ता लिएको हुँ। मन्त्री बन्ने सर्तमा कुनै सम्झौता भएको भन्ने कुरा सत्य होइन,’ उनले भने।
सुकुम्बासी समस्याबारे उनले सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिएको र समाधानका लागि आवश्यक पहल भइरहेको बताए।
रास्वपाको विधानमा संसदीय दलको नेता फिर्ता बोलाउन सकिने व्यवस्थाबारे उनले पार्टी सभापतिलाई विधानको संरक्षकका रूपमा परिकल्पना गरिएको र पार्टीको नीति तथा निर्देशनविपरीत कोही पनि जान नपाउने मान्यताअनुसार उक्त व्यवस्था गरिएको स्पष्ट पारे।


















