गणेश नेपालीको मृत्युबारे गृहमन्त्रीको स्पष्टीकरण : ‘बचाउन सरकारले सबै प्रयास गरेको हो

काठमाडौं: गृहमन्त्री सुधन गुरुङले मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा सरकारले कुनै कसर बाँकी नराखेको बताएका छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरूले नेपालीको मृत्युबारे प्रश्न उठाएपछि उनले सरकारको तर्फबाट स्पष्टीकरण दिएका हुन्।

सदनमा बोल्दै गृहमन्त्री गुरुङले गणेश नेपालीलाई उपचारका लागि आवश्यक सबै तयारी गरिएको दाबी गरे। उनका अनुसार श्री एयरलाइन्सको विमान तयारी अवस्थामा राखिएको थियो भने आवश्यक अनुमति पनि लिइएको थियो। तर चिकित्सकले बिरामीको अवस्था स्थिर बनाएपछि मात्र स्थानान्तरण गर्न सुझाव दिएका कारण तत्काल उडान सम्भव नभएको उनले बताए।

‘हामीले अथक प्रयास गरेकै हो। श्री एयरलाइन्सको प्लेन रेडी गरेकै हो। अनुमति लिएकै हो। चिकित्सकले स्टेबल राख्नुपर्‍यो भन्नुभयो। उहाँको ब्लड प्रेसर नै लो भएको थियो,’ उनले भने, ‘हामीले उहाँलाई बचाउन गरेको हो।’

गृहमन्त्री गुरुङले सरकारले आफ्नो दायित्वबाट पछि नहट्ने स्पष्ट पार्दै उपचारका क्रममा सबै प्रयास हुँदाहुँदै पनि गणेश नेपालीको ज्यान जोगाउन नसकिएको बताए।

‘नेपाल सरकारको तर्फबाट हामी एक इन्च पनि दायित्व छाड्दैनौं। नचाहँदा नचाहँदै पनि अथक प्रयासपछि आज हाम्रो गणेश नेपाली भाइ हामीमाझ हुनुहुन्न,’ उनले भने।

घटनालाई लिएर भइरहेको राजनीतिक टिप्पणीप्रति असन्तुष्टि जनाउँदै उनले कसैको पीडालाई राजनीतिकरण नगर्न आग्रह गरे। साथै संसदको गरिमा कायम राख्न सबै दललाई अपिल गर्दै सरकार सञ्चालन संविधान र कानुनअनुसार हुने बताए।
यसक्रममा उनले काठमाडौं महानगरपालिकाको भूमिकामाथि पनि प्रश्न उठाए। ह्वीललक सम्बन्धी व्यवस्था स्थानीय सरकारको जिम्मेवारी भएको उल्लेख गर्दै त्यसको दोष संघीय सरकारमाथि मात्रै थोपर्न नमिल्ने उनको भनाइ थियो।

‘अहिले काठमाडौंमा स्थानीय सरकार कसको छ ? ह्वील लक लगाएको कसले ? अनि त्यो दोष पनि हामीले भोग्नुपर्ने ?’ उनले प्रश्न गरे।

गृहमन्त्री गुरुङले वर्तमान सरकारले विद्यमान कानुनको कार्यान्वयन गरिरहेको उल्लेख गर्दै घटनाबारे सरकार जिम्मेवार ढंगले अघि बढिरहेको बताए।