पीडामाथि राजनीति नगरौँ, सरकार जिम्मेवारीबाट पछि हट्दैन’ : गृहमन्त्री सुदन गुरुङ

काठमाडौं: गृहमन्त्री सुदन गुरुङले नागरिकको पीडालाई राजनीतिक विषय नबनाउन आग्रह गर्दै सरकारले आफ्नो जिम्मेवारीबाट कुनै हालतमा पछि नहट्ने बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै मन्त्री गुरुङले गणेश नेपालीको घटनापछि सरकारले उद्धार, उपचार र समन्वयका लागि रातभर काम गरेको दाबी गरे।

गृह मन्त्रालयले विशेष टोली बनाएर अस्पतालसँग समन्वय, चिकित्सकसँग परामर्श, भारतसँग आवश्यक अनुमति तथा एयर एम्बुलेन्सको व्यवस्थासम्मका काम गरिएको उनले बताए।

विपक्षी सांसदहरूले सरकारको कामलाई ‘स्टन्टबाजी’ भनेकोप्रति आपत्ति जनाउँदै गुरुङले जनताको सेवा भाषण वा प्रचारका लागि नभई व्यवहारमा देखिनुपर्ने बताए।

“घाँटी फोडेर कराउँदैमा समस्या समाधान हुँदैन। जनताको दुःखमा पुगेर काम गर्नुपर्छ। त्यसलाई स्टन्टबाजी भन्न मिल्दैन,” उनले भने।
सरकारले घटनाको सुरुदेखि नै सबै निकाय परिचालन गरेको दाबी गर्दै उनले नेपाल प्रहरी, ट्राफिक प्रहरी, चिकित्सक तथा सम्बन्धित निकाय रातभर उद्धार र उपचार व्यवस्थापनमा खटिएको बताए। गम्भीर घाइते गणेश नेपालीलाई भारत लैजान भारतीय पक्षसँग रातारात समन्वय गरिएको, एयर एम्बुलेन्स तयारी अवस्थामा राखिएको तथा एयरपोर्ट व्यवस्थापनसमेत गरिएको उनको भनाइ थियो।

यद्यपि बिरामीको स्वास्थ्य अवस्था अत्यन्त जटिल भएकाले चिकित्सकको सिफारिसअनुसार मात्रै स्थानान्तरण प्रक्रिया अघि बढाइएको उनले बताए। “डाक्टरको सिफारिसभन्दा बाहिर गएर निर्णय गर्न सकिँदैन,” उनले भने।

हेलिकप्टर किन प्रयोग गरिएन भन्ने प्रश्नको जवाफ दिँदै गुरुङले उद्धार कार्य सामाजिक सञ्जालमा देखिएजस्तो सरल नहुने बताए। गाडी खोलामा डुबिसकेको, पानीको बहाव तीव्र रहेको र उद्धारका लागि विशेष उपकरण तथा गोताखोर आवश्यक पर्ने अवस्थाले हेलिकप्टर मात्रै पर्याप्त नहुने उनको भनाइ थियो।

“हेलिकप्टर उडाउनु मात्रै समाधान होइन। आवश्यकताअनुसार ड्रोन, गोताखोर र विशेष उद्धार टोली परिचालन गर्नुपर्छ। राज्यको स्रोत–साधन विवेकपूर्ण रूपमा प्रयोग गर्नुपर्छ, किनकि त्यो जनताको पैसा हो,” उनले भने।

गुरुङले संसदमा व्यक्तिगत टिप्पणी र होच्याउने प्रवृत्तिप्रति पनि असन्तुष्टि व्यक्त गरे। आफू नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै राजनीतिमा आएको उल्लेख गर्दै उनले संसदको गरिमा कायम राख्न सत्ता र विपक्ष दुवैले जिम्मेवार भूमिका खेल्नुपर्ने बताए।

“हाम्रो गल्ती भए हामी सुधार्छौँ, तपाईँहरूको गल्ती भए तपाईँहरूले सुधार्नुहोस्। पक्ष र विपक्ष एउटै डुङ्गामा चढेर देश बनाउनुपर्छ,” उनले भने।

जरिवाना सम्बन्धी विवादबारे पनि उनले स्पष्ट पार्दै हाल चर्चामा रहेको व्यवस्था विधेयकको प्रस्ताव मात्रै भएको र संसदबाट पारित नभइसकेको बताए। कानुनअनुसार छलफल, संशोधन र संसदीय प्रक्रियापछि मात्रै कुनै व्यवस्था लागू हुने उनको भनाइ थियो।

भाषणको अन्त्यमा मन्त्री गुरुङले सरकार नागरिकको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै दुःखद घटनालाई राजनीतिक लाभ–हानिको विषय नबनाउन सबै दललाई आग्रह गरे। “सरकार विपक्षको पनि हो, सत्तापक्षको पनि हो। हामी कुनै पनि नेपालीको आँसु देख्न चाहँदैनौँ,” उनले भने।