काठमाडौं: कर्णाली प्रदेशमा विद्युत आपूर्तिलाई थप भरपर्दो बनाउन तथा मर्मत कार्यलाई छिटोछरितो बनाउन नेपाल विद्युत प्राधिकरणको कर्णाली प्रदेश कार्यालयलाई आवश्यक यान्त्रिक क्रेन उपलब्ध गराइने भएको छ।
लामो समयदेखि मर्मतका लागि आवश्यक उपकरणको अभाव झेल्दै आएको कर्णालीमा अब ट्रान्सफर्मर तथा अन्य विद्युत उपकरणको मर्मत कार्य सहज हुने अपेक्षा गरिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहल र समन्वयपछि नेपाल विद्युत प्राधिकरणको खरिपाटीस्थित ट्रान्सफर्मर वर्कशपमा रहेको यान्त्रिक क्रेन आवश्यक सर्भिसिङ सम्पन्न भएपछि कर्णाली पठाउने निर्णय गरिएको हो।
आवश्यक कानुनी तथा प्राविधिक प्रक्रिया पूरा गरी उक्त क्रेन छिट्टै कर्णाली प्रदेश कार्यालयलाई हस्तान्तरण गरिने ऊर्जा मन्त्रालयले जनाएको छ।
गत असार दोस्रो साता मन्त्री श्रेष्ठले कर्णाली प्रदेशसहित तीन प्रदेशका पाँच जिल्लाको स्थलगत अनुगमन गरेका थिए। अनुगमनका क्रममा सुर्खेतलगायत विभिन्न क्षेत्रमा बारम्बार हुने लाइन ट्रिपिङ, विद्युत अवरोध तथा मर्मत कार्यमा हुने ढिलाइबारे स्थानीय कार्यालयका कर्मचारी र सरोकारवालासँग छलफल भएको थियो।
त्यही क्रममा नेपाल विद्युत प्राधिकरणको कर्णाली प्रदेश कार्यालयले मर्मतका लागि आवश्यक यान्त्रिक क्रेनको अभावका कारण सेवा प्रवाह प्रभावित भइरहेको विषय मन्त्रीको ध्यानाकर्षण गराएको थियो।
हालसम्म कर्णालीमा ट्रान्सफर्मर, पोल तथा अन्य विद्युत उपकरणको मर्मतका लागि अन्य प्रदेशबाट क्रेन मगाउनुपर्ने बाध्यता रहेको थियो। यस प्रक्रियामा समय लाग्ने भएकाले विद्युत अवरोध लामो समयसम्म कायम रहने र उपभोक्ताले सास्ती व्यहोर्नुपर्ने अवस्था थियो। विशेषगरी दुर्गम भूगोल र लामो दूरीका कारण उपकरण ढुवानी तथा मर्मत कार्य थप चुनौतीपूर्ण बन्दै आएको थियो।
अब प्रदेशमै आवश्यक यान्त्रिक क्रेन उपलब्ध भएपछि विद्युत अवरोध भएका स्थानमा प्राविधिक टोली छिटो पुग्न सक्ने, ट्रान्सफर्मर तथा अन्य उपकरणको मर्मत कार्य समयमै सम्पन्न हुने र विद्युत सेवा पुनः सञ्चालन गर्न लाग्ने समय उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको छ। यसबाट कर्णालीका नागरिकले अझ भरपर्दो र गुणस्तरीय विद्युत सेवा प्राप्त गर्ने विश्वास गरिएको छ।
ऊर्जा मन्त्रालयले स्थानीय तहमा देखिएका व्यावहारिक समस्या समाधानलाई प्राथमिकतामा राख्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउने नीति अनुरूप आवश्यक स्रोत–साधन व्यवस्थापनलाई निरन्तरता दिइरहेको जनाएको छ।
मन्त्रालयका अनुसार नागरिकलाई सहज, सुरक्षित र गुणस्तरीय विद्युत सेवा उपलब्ध गराउन आवश्यक पूर्वाधार तथा उपकरण व्यवस्थापनलाई आगामी दिनमा पनि प्राथमिकताका साथ अघि बढाइनेछ।


















