काठमाडौं: अभिनेत्री तथा फिल्म निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ।
गत मंगलबारदेखि माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत रहेकी निरौलाको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख रहेको बताइएको छ।
न्युरोसर्जन डा. वसन्त पन्त नेतृत्वको चिकित्सक टोलीले उनको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो। उपचारपछि केही समय सघन उपचार कक्ष (आईसीयू)मा राखिएकी उनलाई अहिले जनरल वार्डमा सारिएको अस्पताल स्रोतले जनाएको छ।
कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत निरौलाको शल्यक्रिया सफल भएको जानकारी दिँदै उपचारमा संलग्न चिकित्सक टोलीप्रति आभार व्यक्त गरेका छन्। उनले दीपाश्रीको स्वास्थ्यमा अपेक्षाअनुसार सुधार भइरहेको र चिकित्सकको निगरानीमा उपचार जारी रहेको उल्लेख गरेका छन्।
अस्पतालका चिकित्सकका अनुसार शल्यक्रियापछिको अवस्था सामान्य रहेको छ। स्वास्थ्यमा यस्तै सुधार कायम रहेमा उनलाई करिब एक साताभित्र अस्पतालबाट डिस्चार्ज गर्ने तयारी छ।
नेपाली चलचित्र क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय निरौला अभिनय, निर्देशन र निर्माणमा स्थापित नाम हुन्। विशेषगरी हास्य विधाका चलचित्र र टेलिभिजन कार्यक्रममार्फत दर्शकमाझ लोकप्रिय बनेकी उनी पछिल्ला वर्षहरूमा निर्देशन र निर्माणमा पनि सक्रिय रहँदै आएकी छन्।
उनको स्वास्थ्य अवस्थाबारे जानकारी सार्वजनिक भएपछि चलचित्रकर्मी, शुभेच्छुक र प्रशंसकहरूले शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गरिरहेका छन्।


















