रोशी खोलामा बाढीको जोखिम बढेपछि बीपी राजमार्गमा सवारी आवागमन रोकियो

काठमाडौं: रोशी खोलाको जलाधार क्षेत्रमा लगातार वर्षा भएपछि सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा सवारी आवागमन अर्को सूचना नभएसम्मका लागि अस्थायी रूपमा रोकिएको छ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रमुख रविन कार्कीका अनुसार वर्षाका कारण राजमार्ग क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले यात्रु र सवारीसाधनको सुरक्षालाई प्राथमिकतामा राख्दै सवारी आवागमन होल्ड गरिएको हो।

प्रहरीले सडकमार्गको अवस्था निरन्तर अनुगमन भइरहेको जनाएको छ। सडक सुरक्षित रहेको पुष्टि भएपछि सूचना जारी गरी सवारी आवागमन पुनः सञ्चालन गरिने प्रहरीको भनाइ छ।

यसैबीच, प्रहरीले यात्रु तथा सवारीचालकलाई अनावश्यक यात्रा नगर्न, मौसम तथा सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न र आपत्कालीन अवस्थाका लागि नेपाल प्रहरीको १०० तथा ट्राफिक प्रहरीको १०३ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।