काठमाडौं: काठमाडौंका विभिन्न सञ्चारगृहको कार्यालय प्रवेशद्वारमा बेवारिसे अवस्थामा निजी नम्बर प्लेटका कार राखिएको घटनापछि प्रहरीले अनुसन्धान थालेको छ।
बुद्धनगरस्थित अनलाइनखबर र हिमालय टेलिभिजन तथा थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालय अगाडि अज्ञात व्यक्तिले निजी नम्बर प्लेटका कार पार्क गरेर छाडेका हुन्।
अनलाइनखबरको कार्यालयको मूल गेटमै कार राखिएपछि कर्मचारीले अन्य सवारीसाधन कार्यालयभित्र प्रवेश गराउन नसकेको जनाइएको छ।
कार पार्क गर्ने व्यक्तिको हालसम्म पहिचान हुन सकेको छैन।
घटनाबारे सूचना प्राप्त भएपछि प्रहरी टोली सम्बन्धित स्थानमा पुगेर कार हटाउने तथा घटनाको कारण र संलग्न व्यक्तिको पहिचानका लागि आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर सबै पक्षबाट अनुसन्धान जारी रहेको जनाएको छ।


















