काठमाडौं: सम्पत्ति छानबिन आयोगले आफ्नो सम्पूर्ण काम–कारबाही तत्कालका लागि स्थगित गरेको छ।
सर्वोच्च अदालतले आयोगका गतिविधि यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेपछि आयोगले उक्त आदेश कार्यान्वयन गर्दै काम रोकेको हो।
आयोगले बिहीबार सार्वजनिक गरेको सूचनामा सर्वोच्च अदालतको असार ३१ गते जारी अन्तरिम आदेशको सम्मान गर्दै सम्पत्ति विवरण संकलन, अनुसन्धान, छानबिन तथा कारबाही सिफारिससँग सम्बन्धित सबै गतिविधि अर्को आदेश नआएसम्मका लागि स्थगित गरिएको उल्लेख गरेको छ।
रसर्वोच्च अदालतले आयोगलाई सम्पत्ति विवरण संकलन गर्ने, त्यसको छानबिन गर्ने र त्यसका आधारमा कारबाही सिफारिस गर्ने सबै प्रक्रिया तत्काल यथास्थितिमा राख्न आदेश दिएको थियो। सोही आदेशअनुसार आयोगले आफ्ना सबै नियमित कार्य रोकिएको जनाएको हो।
यससँगै अब सर्वोच्च अदालतबाट अर्को आदेश नआएसम्म आयोगले कुनै पनि व्यक्तिको सम्पत्ति विवरण संकलन गर्ने, अनुसन्धान अघि बढाउने वा छानबिनसम्बन्धी अन्य प्रक्रिया सञ्चालन गर्ने छैन।
आयोगको अधिकारक्षेत्र र कामकारबाहीबारे परेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी रहेकाले आयोगको आगामी गतिविधि अदालतको अर्को आदेशपछि मात्र टुंगो लाग्नेछ।


















