चार महिनामा ४ हजार ४ सयभन्दा बढी विपद्का घटना, २०५ जनाको मृत्यु

काठमाडौं: चालु वर्ष २०८३ को वैशाख १ गतेदेखि साउन २३ गतेसम्म देशभर ४ हजार ४ सय ८ वटा विपद्का घटना भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस अवधिमा विपद्का घटनामा परी २०५ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता र १ हजार ३ सय २४ जना घाइते भएका छन्।

प्राधिकरणका अनुसार वैशाखयता सबैभन्दा बढी मानवीय क्षति सर्पदंशबाट भएको छ। सर्पदंशका ८ सय १ घटनामा ५९ जनाको मृत्यु भएको छ भने ७ सय ४९ जना घाइते भएका छन्।

त्यस्तै, २ सय ३५ वटा चट्याङका घटनामा २५ जनाको मृत्यु भएको छ। लेक लाग्ने ५७ घटनामा २३ जना, आगलागीका १ हजार ६० घटनामा २० जना र पहिरोका ८ सय १५ घटनामा २० जनाको मृत्यु भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ।

विपद्का घटनाबाट देशभर कुल ५ हजार ४ सय ५७ परिवार प्रभावित भएका छन्। तीमध्ये हावाहुरीका ४ सय ८० घटनाबाट १ हजार ३ सय ५८ परिवार प्रभावित भएका छन् भने आगलागीका घटनाबाट १ हजार १ सय ७० परिवार प्रभावित भएका छन्।

प्राधिकरणले मनसुन सक्रिय रहेको वर्तमान अवस्थामा बाढी, पहिरो, डुबान, चट्याङलगायतका विपद्को जोखिम उच्च रहेकाले पूर्वतयारी तथा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ।