ग्यास बिक्री वितरण सहज बनाउन उद्योग तथा डिपोको अनुगमन तीव्र

काठमाडौं: उपत्यकासहित देशका विभिन्न स्थानमा खाना पकाउने ग्यासको बिक्री वितरणमा देखिएको समस्या तत्काल समाधान गर्न सरकारले ग्यास उद्योग तथा डिपोको अनुगमन तीव्र बनाएको छ।

साबिकभन्दा बढी परिमाणमा ग्यास आयात भइरहेको नेपाल आयल निगमको दाबी रहे पनि सहज रूपमा ग्यास नपाएको सर्वसाधारणको गुनासो बढेपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले शनिबार काठमाडौंमा रहेका ग्यास उद्योग तथा डिपोको अनुगमन गरेकी छन्।

मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोटलिङ तथा बिक्री वितरणसम्बन्धी तथ्याङ्कबारे जानकारी लिएकी थिइन्। उद्योगको निरीक्षणपछि उनी निगमको टेकुस्थित कार्यालय परिसरमा रहेको डिपोमा पुगेर अनुगमन गरेकी थिइन्। मन्त्री यादवको स्वकीय सचिवालयका अनुसार अनुगमनका क्रममा उनले ग्यास बिक्री गर्दा विद्यार्थी, मजदुर तथा अप्ठ्यारोमा परेका नागरिकलाई प्राथमिकता दिन निर्देशन दिएकी छन्।

ग्यासको अभाव देखिएपछि निगमको निर्देशनमा साउन १६ गतेदेखि नेपाल, एचपी, एभरेष्ट, सुगम र श्रीराम ग्यास उद्योगले टेकुबाट ग्यास बिक्री वितरण गरिरहेका छन्।

उपभोक्ताको गुनासो सम्बोधन गर्न निगमले ‘क्विक रेस्पोन्स टिम’ गठन गरी ग्यासको बिक्री वितरणलाई सहज बनाउने प्रयास गरिरहेको छ।

निगमका अनुसार काठमाडौं उपत्यकामा मात्रै दैनिक करिब ४० हजार सिलिन्डर ग्यास बिक्री भइरहेको छ। निगमको एलपी ग्यास विभागका निर्देशक विनितमणि उपाध्यायले ग्यासको आयात नियमित भइरहेको जानकारी दिँदै आगामी दिनमा आयातको परिमाण बढाउने प्रयास भइरहेको बताए।