राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण

काठमाडौंः नेपालमा गर्न नसकिएको स्तन क्यान्सरको वंशाणुगत परीक्षण जिन सिक्वेन्सिङ अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै सम्भव बनेको छ । यसअघि यस्तो खालको परीक्षणका लागि नमूना देशबाहिर पठाउनुपर्ने बाध्यता थियो ।

 

अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशका कुनै पनि भागबाट प्राप्त हुने स्तन क्यान्सरको वंशाणुगत परीक्षणका लागि प्राप्त नमूना परीक्षण गर्न सक्ने प्रयोगशाला प्रमुख रञ्जनराज भट्टले जानकारी दिए । उनले यस्तो परीक्षण पहिलो पटक सम्भव भएकाले अब देशबाहिर नमुना पठाउनु पर्ने बाध्यता हटेको समेत उनले बताए ।

 

यसअघि स्तन क्यान्सर आफन्त वा नातेदारमा भए नभएको पत्ता लगाउन परीक्षणका लागि नमूना भारत तथा अन्य देशमा पठाउनु पर्ने थियो ।
यस्तो परीक्षणले वंशाणुगत कारणले हुने स्तन क्यान्सर हुने सम्भावना कुनै पनि व्यक्ति तथा उनको परिवारमा भए नभएको पत्ता लगाउनका लागि सहज हुने भएको छ । परिक्षणका आधारमा प्रारम्भिक चरणमै उपचार गर्न सकिएमा स्तन क्यान्सरबाट व्यक्तिका परिवारलाई जोगाउन यो परीक्षणले मतद गर्ने अपेक्षा समेत गरिएको छ ।

 

यस्तो परीक्षणका लागि नमुना बाहिर पठाउँदा समय बढी लाग्ने र शुल्क पनि बढी तिर्नु बाध्यता रहदै आएकोमा अब भने नेपालमा यो परीक्षण सफल बनेसंगै यस्तो बाध्यता समते हटेका प्रयोगशालाले जनाएको छ ।

 

प्रयोगशालाले रगत र टिस्युबाट यस्तो नमूना परीक्षण गर्ने बताएको छ । योसँगै प्रयोगशालाले क्यान्सरसम्बन्धी ४ थरीका नमूना परीक्षण नियमित थप गर्ने भएको छ ।

 

भारतमा स्तन क्यान्सरको वंशाणुगत नमूना परीक्षणका लागि ६० हजार रुपैयाँसम्म पर्ने गरेको छ । र, नमूना पठाउनका लागि लाग्ने समय पनि बढी लाग्ने गरेको क्यान्सर अस्पतालका चिकित्सक बताउँछन् । तर प्रयोगशालाले भने ३० हजार रुपैयाँ भित्रै परीक्षण गर्नेछ ।

 

नेपालमा वर्षमा करिब दुई हजार जनाले स्तन क्यान्सरको वंशाणुगत परीक्षण गराउँदै आएका छ्न् । यस आधारमा परिक्षणका लागि करिब १२ करोड विदेशिने गरेकोमा सो रकम समेत जोगिने अपेक्षा प्रयोगशालाले गरेको छ ।