सेयर बजारमा बद्धि, चार दिनमा ३८ अर्ब ५८ करोडको कारोबार

काठमाडौंः यो साताका चार कारोबार दिनमा सेयर बजार समग्रमा ६५.२५ अंकले बढ्यो ।

बुधबार राष्ट्रिय प्रजातन्त्र दिवसको सार्वजनिक बिदा भएकाले साताका पाँचमध्ये चार दिन मात्र सेयर कारोबार भयो ।

चार दिनमा ३८ अर्ब ५८ करोड रुपैयाँको कारोबार भयो ।

गएको साताको तुलनामा कारोबार रकम कम भयो । तर, पाँच कारोबारको तुलनामा यो साताका चार दिनमा रकम बढी मान्न सकिन्छ । गएको साता ३९ अर्ब २४ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।

यो साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २७४३.७४ विन्दुमा बन्द भएको छ । गएको साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २६७८.४७ विन्दुमा बन्द भएको थियो ।

यो साताका सबै चार कारोबार दिन नै बजार बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

यो साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ३.१४ अंकले बढेको थियो । आइतबार १९.५६, सोमबार २९.८७ र मंगलबार १२.६८ अंकले बजार बढेको थियो ।

गएको साता बजार समग्रमा २१.३३ अंकले घटेको थियो । उक्त साता दुई कारोबार दिन मंगलबार र बिहीबार नेप्से बढेको थियो ।

मंगलबार ६.५४ र बिहीबार १.८६ अंकले बजार बढेको थियो । गएको साताको आइतबार नेप्से ११.४९, सोमबार १०.९८ र बिहीबार ७.२६ अंकले घटेको थियो ।