प्रधानमन्त्री ओली: सामाजिक मर्यादा ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने कार्य नियन्त्रण गर्ने

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मर्यादाहरु ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने र परिवारकै बीचमा पनि अविश्वास पैदा गर्ने जस्ता कामहरु नियन्त्रण गरिने बताएका छन् ।

महान्यायाधिवक्ताको कार्यालयद्वारा आज आयोजित डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मानवीय सुख र समृद्धिका लागि डिजिटल प्रविधिको प्रयोग हुनुपर्ने भएकाले अधिकारको प्रयोगका नाममा समाजलाई विकृत बनाउने छाडातन्त्रलाई रोक्न कानुन ल्याएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सरकारले सामाजिक सञ्जाल प्रयोगको अधिकारमा तलमाथि हुने गरी कुनै कानुन नबनाउने स्पष्ट गर्दै कार्यान्वयनको दश वर्ष पुगेको अवस्थामा संविधानको समीक्षा गर्दै आवश्यक संशोधन भने गरिने बताए ।

त्यस्तै, डिजिटल युगमा कुनै मुलुकको एक्लो प्रयासले अपराध नियन्त्रण प्रभावकारी नहुने भएकाले यसमा अन्तर्राष्ट्रिय सहयोग आदानप्रदान आवश्यक हुनेमा जोड दिए।

ओलीले सामाजिक प्रबन्धहरुले मानवीय सुख र सहज आपूर्तिको परिपाटी बसाल्नु पर्ने बताउदै देशलाई पछाैटेपनबाट अगाडि बनाउने प्रयासलाई सफल बनाएर छाड्ने समेत दाबी समेत गरेका छन् ।