काठमाडौं: सर्लाहीको हरिवनस्थित मानव सेवा आश्रम भवन निर्माण सहयोका लागी श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ हुने भएको छ ।
आज मानव सेवा आश्रमले पत्रकार सम्मेलन गरि मानव सेवा आश्रम भवन निर्माण सहयोका लागी यही फागुन २२ गतेदेखि २९ श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ हुने जानकारी दिएको हो । साथै महायज्ञको सम्पूर्ण तयारी पूरा भएको मूल आयोजक समितिले जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा आयोजक समितिका पदाधिकारीहरूले महायज्ञबाट संकलित सहयोग रकम आश्रमको भवन निर्माणमा खर्च गरिने जनाएका छन् ।
कार्यक्रममा विभिन्न धर्मगुरु, राजनीतिक तथा समाजसेवी व्यक्तित्वहरूको सहभागिता रहनेछ । महायज्ञ अन्तर्गत भागवत प्रवचन, धार्मिक अनुष्ठान, भजन कीर्तन तथा अन्य सामाजिक सेवा कार्यक्रमहरू सञ्चालन गरिने छन् ।
साथै, हरेक दिन बिहान योग शिविर तथा विद्यार्थीहरूका लागि उत्प्रेरणात्मक कार्यक्रमहरू समेत आयोजना गरिने जानकारी दिइएको छ ।
कार्यक्रममा मानव सेवा आश्रमका केन्द्रीय तथा संस्थापक अध्यक्ष रामजी अधिकारीले मानवसेवा आश्रम सबैको साझा मानवताको मन्दिर भएकाले भवन निर्माणमा सबैले सकेको योगदान गर्ने अवसरका रुपमा महायज्ञलाई लिनुपर्ने बताएका छन्।
यसैगरी, हरिवन नगरपालिकाका नगरप्रमुख कमल बुढाथोकीले ज्येष्ठ नागरिकहरू ज्ञानका खानी भएको भन्दै यस्ता व्यक्तिहरूको संरक्षणका लागि स्थानीयका साथै तीनै तहका सरकारको पहल गर्न आवश्यक रहेको औँल्याएका छ्न् । उनले हरिवन नगरपालिकाले सहयोगापेक्षी सडक आश्रितमानव मुक्त नगरपालिका घोषणा तयारी गरिसकेको र मानव सेवा आश्रमको सहकार्यमा अबका दिनमा सर्लाही जिल्लालाई नै सहयोगापेक्षी सडक आश्रितमानव मुक्त घोषणा गर्नुपर्ने समेत धारणा व्यक्त गरे । साथै उनले महायज्ञ सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको जनाएका छ्न् ।
यस्तै उपमेयर हरिमाया घलानले नगरपालिका मानवसेवा आश्रमको साथमा रहेको जानकारी दिइन् ।
मानव सेवा आश्रम हरिवन–९ मा निर्माणका लागि करिब ११ करोड रुपैयाँ लाग्ने बताएको छ ।
आश्रमको भवन निर्माणपछि सहयोगापेक्षी सडक आश्रित मानवहरुका लागि खाना, नाना, छाना, स्वास्थ्य र शिक्षाको प्रवन्धका लागि सहज हुने आयोजको अपेक्षा छ ।
मानवसेवा आश्रमले मधेश प्रदेशमा मात्रै हालसम्म ७१५ जना सडकआश्रित मानवहरुको उद्धार गरिसकेको छ भने ४०१ जनाको सुखद पारिवारिक पुनर्मिलन गराइसकेको छ ।


















