काठमाडौं: नेपाल राष्ट्र बैंकले ४ अर्ब रुपैयाँभन्दा बढी रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।
राष्ट्र बैंकले आइतबार सूचना जारी गरी आफ्ना विभिन्न कोषमा रहेको ४ अर्ब ७९ लाख बराबर रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने जनाएको हो ।
केन्द्रीय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा उक्त परिमाण बराबर रकम मुद्दती निक्षेपमा लगानी गरिने छ ।
वाणिज्य बैंकमा ३ अर्ब २० करोड ६५ लाख, विकास बैंकमा ६० करोड ११ लाख र वित्त कम्पनीमा २० करोड ३ लाख मुद्दती निक्षेपमा लगानी गरिने छ ।
१२ मार्च २०२५ देखि १२ मार्च २०२६ सम्म ३ सय ६६ दिनको मुद्दती निक्षेपमा उक्त रकम लगानी गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।
निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम गरेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ८ प्रतिशतभन्दा कम हुनुपर्ने, खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत हुनुपर्ने, खुद तरल सम्पत्ति केन्द्रीय बैंकले तोकेको न्यूनतम सीमा कायम गरेको हुनुपर्ने, कर्जा/निक्षेप अनुपात समय–सयममा निर्धारण गरिएको सीमाभित्र रहेको हुनुपर्ने र निकटतम अघिल्लो आर्थिक वर्षमा खुद मुनाफामा रहेको हुनुपने सर्त राष्ट्र बैंकको रहेको छ ।
त्यसैगरी निक्षेप लगानी गरिने बैंक तथा वित्तीय संस्था शीघ्र सुधारात्मक कारबाहीमा परेको भए यस्तो कारबाही फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने, त्यस्तै राष्ट्र बैंकको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको हुनुपर्ने र भएको भए फुकुवा भएको ६ महिना अवधि पूरा भएको हुनुपर्ने तथा सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने सर्त केन्द्रीय बैंकको छ ।


















