वीरगञ्ज: म्याग्नस फर्माले प्यारेन्टल तथा इन्जेक्टेबल औषधी उत्पादन गर्ने बताएको छ । अत्याधुनिक प्यारेन्टेरल प्लान्ट निर्माणको अन्तिम चरणमा रहेको बताउँदै केही समयमै प्यारेन्टल तथा इन्जेक्टेबल औषधी बजारमा ल्याउने जानकारी पत्रकार सम्मेलनमार्फत् दिइएको हो।
वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा म्याग्नस फर्माले उक्त प्लान्टबाट थेराप्युटिक सेगमेन्टका विभिन्न औषधीहरु उत्पादन गर्ने लक्ष्य लिइएको प्रबन्धक निर्देशक सुधीर प्रकाश मास्केले बताए। उनले क्रिटिकल केयर, पेन मेनेजमेन्ट, न्युरो, साइक्याट्री, अप्थाल्मिक, ईएनटी र एनेस्थेसिया आदिका प्यारेन्टल तथा इन्जेक्टेबल औषधीहरु बनाउन लागिएको जानकारी समेत गराए ।
विश्व स्वास्थ्य संगठनको कुशल औषधि उत्पादन अभ्यास तथा विभिन्न अन्तराष्ट्रिय मापदण्ड अनुसार अत्याधुनिक प्यारेन्टेरल प्लान्ट (स्टेराइल प्लान्ट) निर्माणको अन्तिम चरणमा छ।
फर्माको क्वालिटी विभागका कमलेश कुमार यादवका अनुसार त्यस्तो विशेष प्रकारको उत्पादन प्लान्ट हो, जहाँ कुनै पनि प्रकारको जीवाणु, किटाणु, भाइरस तथा त्यसको अवयव रहित औषधी बनाउने प्रक्रिया हो।
यादवले प्यारेन्टल तथा इन्जेक्टेबल औषधि सिधै ब्लडमा जान भएकाले ब्लड जस्तै शुद्ध बनाउनु पार्ने र नेपालमा पहिलोपटक यस्ता औषधी बनाउने प्रयासमा फर्मा लागेको बताए ।
कम्पनीकी चिफ एक्जुक्युटिभ मञ्जुली श्रेष्ठले म्याग्नस तीव्र गतिमा विकास भएको कम्पनी रहेको बताउँदै नयाँ बेञ्चमार्क तय गर्दै अघि बढिरहेको बताइन्। उनले अनुसार ‘म्याग्नस फर्मा सन् २००७ मा स्थापना भएर सन् २००९ देखि औषधि उत्पादन गर्न सुरु गरेको कम्पनी हो। बिगत १६ वर्षको अवधिमा म्याग्नस फर्मा देशकै एक प्रमुख प्रतिष्ठित औषधि उत्पादकका रुपमा स्थापित छ । साथै
कम्पनीले ५ वटा औषधिहरु नेपाली बजारमानै पहिलोपटक र ३४ भन्दा बढी प्रकारका औषधिहरु पहिलो पटक नेपालमा उत्पादन गरिरहेको छ ।
फर्माका अध्यक्ष सन्दिप तुल्सियानले म्याग्नस फर्माले अहिलेसम्म २०७ प्रकारका ओएसडी औषधीहरु ल्याइसकेको तथा यसको गुणस्तरीयता र विश्वसनीयता बजारमा स्थापित भैसकेको बताए। उनले अब आउन लागेको इन्जेक्टेबल औषधिहरु देशको स्वास्थ्य क्षेत्रको लागि अत्यावश्यक औषधीहरूमा रहेको बताए। साथै आउन लागेको औषधिहरुले गुणस्तरमा कुनै सम्झौता नगरिकन, देशको औषधि आयात लाई प्रतिस्थापन गर्ने लक्ष्य लिएको बताए ।
फर्मा प्राविधिक निर्देशक सर्वोत्तम गिरिले आउँदै गरेको इन्जेक्टेबल प्लान्टको उद्घाटन नजिकिदै गर्दा आफू अत्यन्त उत्साहित र आशावादी भएको बताए। उनले नेपालको औषधि उद्योगमा यो इन्जेक्टेबल प्लान्ट एउटा कोसेढुङ्गा साबित हुने बिश्वास व्यक्त गरे। त्यस्तै सम्पूर्ण प्राविधिक टिमले यसलाई चुनौती र अवसर दुबैका रुपमा लिएको पनि जनाए।
कम्पनीका प्रबन्ध निर्देशक मास्केले अहिले उद्योग क्षेत्रमा चुनौतीको चाङ रहेको बताउँदै त्यसलाई छिचोल्दै अघि बढ्ने उद्देश्य अनुरुप नयाँ प्लान्ट निर्माण गरिएको उल्लेख गरे। उनले गुणस्तरीय तथा सुरक्षित औषधी प्रयोग गर्न पाउनु प्रत्येक नेपालीको मौलिक अधिकार भएकाले यही बिषयलाई ध्यानमा राख्दै औषधिको गुणस्तरीयतामा कुनै सम्झौता नगरिएको र नगरिने प्रतिबद्धता समेत जाहेर गरे ।
त्यसै गरी वित्तिय निर्देशक विनित लोहिया उक्त प्लान्ट र अत्याधुनिक वेयरहाउस गरेर थप एक अर्ब भन्दा बढीको लगानी गरिसकेको बताउँछन्। उनले उच्च गुणस्तरको औषधि उत्पादनको लागि कुनै सम्झौता नगरिकन लगानी गरेको जानकारी गराए ।
साथै देशको सिथिल अर्थतन्त्र तथा रोजगारी प्रवर्द्धनमा थोरै भएपनि टेवा पुग्ने विश्वास लिएका उनले बताए ।



















