मन्त्रीहरूको विदेश भ्रमणबारे ‘विशेष आचारसंहिता’ बनाइयो

काठमाडौं: सरकारले एकै मन्त्रालयका मन्त्री र सचिवलाई अब एउटै कार्यक्रमका निम्ति विदेश भ्रमणमा नपठाउने भएको छ ।

दुवैजना मन्त्रालयमा नहुँदा सुशासन र सेवामा असर पर्ने भएकाले त्यस्तो भ्रमण स्वीकृत नगर्ने निर्णय मन्त्रिपरिषद् बैठकबाट गरिएको हो ।

फागुन २१ बसेको मन्त्रिपरिषद्को बैठकबाट मन्त्रीहरूको विदेश भ्रमणका विषयमा विशेष आचारसंहिता पनि बनाइएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए छ्न् ।

उनका अनुसार, मन्त्रीहरू मन्त्रीस्तरीय सम्मेलन, बैठकमा मात्र विदेश जाने निर्णय गरिएको छ ।

उनले भने “सामान्य टेबल, संवाद कार्यक्रममा नजाने । मन्त्रीहरूले नीतिको सम्बन्धमा बोल्नैपर्ने, कुनै नेपाल सरकार पक्ष राष्ट्र भएकोले प्रतिनिधित्व गर्दै कहीँ मताधिकार प्रयोग गर्नुपर्ने हुनसक्छ । कहीँ हस्ताक्षर गर्नुपर्ने हुनसक्छ, त्यस्तो बेलामा जाने अन्यथा सानोतिनो निमन्त्रणमा भ्रमण स्वीकृत नगर्ने निर्णय भएको छ,”।

कर्मचारीको हकमा पनि सचिव, सहसचिव एकै ठाउँमा धेरै नजाने निर्णय समेत गरिएको उनले जानकारी दिए ।