तराई-मधेश अभियानले राष्ट्रकै ध्यान मधेशतिर खिच्यो: प्रचण्ड

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले पनि लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक प्रतिनिधित्व प्रणाली उल्टाउने दुस्साहस भइरहेको बताएका छन् ।

तराई-मधेश अभियानका क्रममा सर्लाहीको मलंगवामा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिले पनि प्रतिक्रियावादी तत्वहरूले कुनै न कुनै रूपले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक प्रतिनिधित्व प्रणाली उल्टाउने दुस्साहस गरिरहेको बताएका हुन् ।

उक्त दुस्साहसविरुद्ध संघर्ष गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै अध्यक्ष प्रचण्डले परिआएको खण्डमा काठमाडौंको सडकमा फेरि लाखौंको संख्यामा जनता उतार्ने बताए । यसका लागि तराई-मधेशका जनतालाई उनले अपिल पनि गरे ।

अध्यक्ष प्रचण्डले यही जनमतका लागि जनशक्ति निर्माण गर्ने र आइपरे सडकबाट चुनौती दिने उद्देश्यले यो अभियान सुरु गरिएको बताए ।

यो अभियान विल्कुल जनताको आवश्यकता र यस क्षेत्रका जनताको आवश्यकता अनुकूल भएको उनले जिकिर गरे ।

‘उनले भने- ‘हुलाकी राजमार्गलाई केन्द्रमा राखेर यहाँका जनताको पिरमर्का के छन्, किसानका समस्या, महिलाका समस्या, दलितका समस्या, मधेशका समस्या, आदिवासी जनजाति, मुस्लिमका समस्या नजिकबाट बुझ्ने उद्देश्यका साथ अभियान सुरु गरेका हौं । यहाँका बुद्धिजीवी एवं व्यवसायीहरूको सोच के छ, किसनका समस्या के छन् भनेर बुझ्न र यहाँको समस्यालाई राष्ट्रिय रूपमा स्थापित गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो,’ ।