स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्‍यो केही कर्मचारीको जिम्मेवारी हेरफेर

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो मातहतका केही कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै उनीहरुको जिम्मेवारी हेरफेर गरेका हुन्।

मन्त्रालयले स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकमा डा. चन्द्रभाल झालाई जिम्मेवारी दिएको छ। डा. झा नारायणी अस्पतालमा थिए। त्यसअघि उनी कोशी अस्पतालका निर्देशक पनि रहेका थिए।

त्यस्तै महाशाखाका निर्देशक रहेका डा यदुचन्द्र घिमिरेलाई किटजन्य रोग अनुसन्धान केन्द्रको प्रमुखका रुपमा सरुवा गरिएको छ।

यसैगरी, गजेन्द्रनारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्रमुख वाल रोग विशेषज्ञ डा. एन्जीला घिमिरेलाई परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सरुवा गरिएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल अस्पतालमा कार्यरत डा किरणमणि पौडेललाई गजेन्द्रनारायण सिंह प्रतिष्ठानमा सरुवा गरिएको छ।

यसैगरी, ११ औं तहमा बढुवा भएका ६ जना चिकित्सकलाई पनि पदस्थापन गरिएको छ। प्रमुख बालरोग विशेषज्ञ डा. रामचन्द्र बास्तोलालाई पोखरा, कार्डियोलोजिष्ट डा. मनोज कोइरालाको दरवन्दी कोशी अस्पतालमा राखी कामकाजको लागि पोखरामा, मानसिक रोग विशेषज्ञ डा. अजिता पौडेल कोशी, प्रमुख अस्पताल नर्सीङ्ग प्रशासक शकुन्तला प्रजापती नारायणी, प्याथालोजीष्ट निलम वैद्य भरतपुर र डेन्टल सर्जन बन्दना खनाललाई कोशी अस्पताल पदस्थापन गरिएको छ।