स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. रघुराज काफ्ले नियुक्त गर्ने निर्णय

काठमाडौं: सोमबार बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. रघुराज काफ्ले नियुक्त गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्ले कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले सिफारिस गरेका तीन जना मध्ये अर्थशास्त्रमा विद्यावारिधी गरेका डा. काफ्लेलाई नियुक्त गर्ने निर्णय गरेको हो।

सिफारिस समितिले डा.काफ्लेसहित डा कृष्ण अधिकारी र कमल पन्थीको नाम सिफारिस गरिएको थियो।

काफ्ले स्वास्थ्य मन्त्रालयले केही समयअघि गठन गरेको स्वास्थ्य बीमा सुधार कार्यदलको सदस्य थिए । साथै मंसिर देखि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलका विज्ञ सल्लाहकार समूहका सदस्यमा काम पनि गरेका थिए।

उनले वैदेशिक रोजगार बोर्डको कार्यकारी प्रमुखको रुपमा ४ वर्ष तथा गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षको रुपमा १९ महिना काम पनि गरिसकेका थिए।

बीमा बोर्डका कार्यकारी निर्देशक रहेका डा. दामोदर बसौलाको चार वर्षे कार्यकाल गत कात्तिक २५ गतेबाट सकिएको थियो। उनको कार्यकाल सकिएपछि मन्त्रालयले डा. सरोज शर्मालाई अर्को व्यवस्था नभएसम्मका लागि बीमा बोर्डको निर्देशकको जिम्मेवारी दिएको थियो।