वीरेन्द्र र दीपेन्द्रको मृत्यु भएकै दिन राजतन्त्र समाप्त भैसक्यो: सञ्चार मन्त्री पृथ्वीसुब्बा

काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले तत्कालीन राजा वीरेन्द्र र युवराज दीपेन्द्रको मृत्यु भएको दिन नै राजतन्त्र सकिएको बताएका छन् ।

मंगलबार काठमाडौंमा हुलाक टिकटहरूमा प्रथम दिवसीय आवरणमा टाँचा प्रदान कार्यक्रम
सम्बोधन गर्दै उनले तत्कालीन राजा वीरेन्द्र र युवराज दीपेन्द्रको मृत्यु भएको दिन नै राजतन्त्र सकिएको बताएका हुन् ।

मन्त्री गुरुङले वीरेन्द्र र दीपेन्द्रको निधन भइसकेपछि भाईलाई राजा बनाएर नेपाली नेताहरूले ठूलो गल्ती गरेको टिप्पणी समेत गरे ।

उनले भने-‘जुन दिन वीरेन्द्रको हत्या भयो र दीपेन्द्रको पनि नाश भयो । राजतन्त्र त्यही दिन सकिएको थियो । सकियो नि त । भइरहेको राजा मारियो, त्यसपछि हुने युवराज नै मारियो भनेपछि राजा सकियो । त्यो दरबारले सकेको हो । जनताले सकेको हो र ? त्यो बेला फेरि राजा बनाएर नेपालका नेताले अझ ठूलो गल्ती गरे,’

भइरहेको राजालाई दरबारबाटै मारिएको आरोप लगाउँदै उनले वीरेन्द्रको निधनपछि ज्ञानेन्द्रलाई राजा बनाउनु सर्पको बच्चा पाले सरह भएको समेत टिप्पणी गरे ।

उनले भने- ‘अब हामीले बुझ्नुपर्छ । राजालाई बोकेर मुलुकको विकास हुँदैन,’ ‘जस्तो जन्मिए पनि राजाको कोखमा जन्मिएकाले तीन करोड नेपाली भन्दा राम्रो हुन्छ भन्ने सिद्धान्त राम्रो होइन । अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रमा आएर पनि राजतन्त्र खोज्ने भनेको बिजुलीको साटो अगुल्टो चाहिन्छ भनेको जस्तै हो ।’