काठमाडौं: होली पर्वलाई रगंहरू पर्व भनिन्छ । त्यसैले पनि यो दिन विभिन्न रगंहरू प्रयोग गरेर होली मनाउने गरिन्छ । तर केमिकल प्रयोग भएका यस्ता रंगहरुले छालामा मात्र नभएर शरिरिकका विभिन्न अङ्गहरुमा समेत असर पार्ने गर्दछ ।
केमिकल युक्त रंगले आँखाको एलर्जी, नाकभित्र एलर्जी तथा रंग नाकबाट भित्रि भागमा पुगेर फोक्सो सम्म पुग्ने हुँदा संक्रमण हुने, दम बढ्ने जस्ता समस्या निम्तिन सक्छ।
सामान्यखाले रङमा मर्करीको मात्रा धेरै हुन्छ भने सल्फाइडको मिसावट पनि गरिएको हुन्छ । यस्ता रंगको अधिक प्रयोगले छाला देखि कलेजो र मिर्गौलासम्म पनि असर पुग्ने चिकित्सकहरु बताउँछ्न्। छाला रोग विशेषज्ञ डा. प्रज्वल पुडासैनीका अनुसार केमिकलयुक्त रंगले छाला सुख्खा हुने, एलर्जी हुने, रंग छाला भित्र पसेर ब्याक्टेरिया तथा फंगस संक्रमणको समस्या समेत निम्त्याउन सक्छ ।
खासगरी रातो, हरियो निलो जस्ता चम्किला रङहरूले छालामा बढी समस्या ल्याउन सक्छ । हरियो रङमा कपरको मात्रा धेरै हुन्छ । निलो रङमा प्रुसियन ब्लू नामक रसायन, सिल्भर रङमा आल्मुनियम बढी मात्रमा हुने गर्दछ । यस्ता रंगले छालाको पत्रलाई सुक्खा बनाउने मात्र नभएर छाला भित्रैसम्म गएर एलर्जी समेत गराउन सक्छ ।
अझ छालामा पहिलादेखी नै घाउखटिरा, दाद वा एलर्जी, डन्डीफोहोर छ भने थप समस्या निम्तन सक्छ । साथै रंग आँखामा पर्दा आँखा रातो हुने एलर्जी गराउने जस्ता समस्या समेत निम्तने आँखा रोग विशेषज्ञ बताउछ्न् । त्यसै होली खेल्दा र रंग छ्याप्दा सावधानी अपनाउन आवश्यक भएको आँखा रोग विशेषज्ञ बताउँछन्।
त्यस्तै, रंगको असरबाट छालालाई जोगाउन शरीरमा तेल वा मोस्चराइजर लगाउने तथा सनस्क्रिनको समेत प्रयोग गर्नुपर्ने छाला रोग विशेषज्ञ चिकित्सकको सुझाव छ। साथै रंग खेलिसकेपछि राम्रोसंग साबुन पानीले सफा गर्ने र मोस्चराइजर प्रयोग गर्नुपर्छ। साथै छालामा कुनै समस्या वा एलर्जी देखिएमा चिकित्सकको परामर्शमा मात्र उपचार गर्न पर्छ ।


















