१५ दिने माध्यमिकी परिक्रमा सम्पन्न, भोलिमात्र मिथिलाञ्चलमा होली मनाइने

जनकपुर: पन्ध्रदिने पदयात्रा मिथिला माध्यमिकी परिक्रमा आज सम्पन्न भएको छ ।

आज बिहानैदेखि जनकपुरधामको अन्तरगृह परिक्रमा गरी पन्ध्रदिने मिथिला परिक्रमा सम्पन्न भएको हो ।

परिक्रमा सकिएकाले भोलि मात्र मिथिलाञ्चल क्षेत्रमा होली खेलिने परम्परा रहेको छ । परिक्रमा समापनको भोलिपल्ट मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ होली पर्व मनाइन्छ।

माध्यमिकी परिक्रमा फागुन औंसीं गत फागुन १५ बाट धनुषाको मिथिलाबिहारी नगरपालिका ८ स्थित मिथिलाविहारी मन्दिरबाट डोलासँगै परिक्रमा प्रारम्भ भएको थियो ।

१५ दिने परिक्रमाको क्रममा जनकपुरको हनुमाननगर, विहारको कलनास्थित कल्यानेश्वर, भारतकै फुलहरस्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोखर, औरही, करुण (भारत), विसौल (भारत) र यात्राको अन्तिम दिन अर्थात १५ औं दिन जनकपुरको अन्तरगृह परिक्रमा गरी मध्यपरिक्रमा सम्पन्न भएको हो ।

परिक्रमा समापनको भोलिपल्ट मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ होली पर्व मनाइने गरिन्छ ।