सिभिल अस्पताल गर्यो १ सय ६१ जनाको बोनम्यारो प्रत्यारोपण

काठमाडौं: निजामती कर्मचारी अस्पताल (सिभिल) ले ९ बर्षमा १ सय ६१ जनाको बोनम्यारो प्रत्यारोपण गरेको छ।

अस्पतालले आज एक कार्यक्रम गरी २०७३ सालयता १ सय ६१ जनाको बोनम्यारो प्रत्यारोपण गरेको जानकारी दिएको  हो।

बोनम्यारो प्रत्यारोपण सुरु गर्न अस्पतालले अमेरिकाको युनिभर्सिटी अफ इलिनोइस (यूआईसी) सिकागोमा तालिका लिन चिकित्सकको टोली नै पठाएको थियो। अस्पतालले २०७३ साउन ३० गतेदेखि नेपालमा पहिलोपटक बोनम्यारो प्रत्यारोपण सुरु गरेको थियो।

चिकित्सकहरूका अनुसार उपचार गरिरहँदा पनि शरीरमा रक्त क्यान्सरका कोषिकाहरू कम नभए र रक्तजन्यरोग लागेमा बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने हुन्छ।

बोनम्यारो प्रत्यारोपणलाई संसारमा नै जटिल र महँगो प्रत्यारोपण मानिन्छ। सिभिल अस्पतालले १० देखि १५ लाखसम्ममा प्रत्यारोपण गर्ने गरेको छ। सिभिल अस्पताल बोनम्यारो प्रत्यारोपण हुने नेपालको एकमात्र अस्पताल हो।