गगन थापाले भने- नागरिकका असन्तुष्टि र बेचैनीको समाधान कांग्रेसले मात्रै गर्ने

काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकमा उत्पन्न असन्तुष्टि र बेचैनीको समाधान नेपाली कांग्रेसले गर्ने बताएका छन् ।

नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ तनहुँद्वारा बुधबार दमौलीमा आयोजित दोस्रो क्षेत्रीय सम्मेलनमा महामन्त्री थापाले नागरिकमा उत्पन्न असन्तुष्टि र बेचैनीको समाधान नेपाली कांग्रेसले गर्ने बताएका हुन् ।

थापाले आमनागरिकलाई समस्या परेका बेला कांग्रेसले नै समाधानको नेतृत्व गर्दै आएको समेत बताए।

उनले भने- “आमनागरिकको असन्तुष्टि र बेचैनीको आगो निभाउने काम गर्छ, जुनसुकै पार्टीसम्बद्ध किन नहोस् आमनागरिकको समस्या समाधान गर्ने जिम्मेवारी सबैभन्दा ठूलो पार्टीको हो, यसका लागि हामी प्रतिबद्ध छौँ ।”

पार्टीले भ्रष्टाचार गरेको आरोप लगाउने गरिएकामा पार्टी सम्बद्ध व्यक्तिले भ्रष्टाचार गर्नसक्ने तर कुनै पनि संगठनले गर्न नसक्ने उनको भनाइ छ ।

साथै उनले सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिले भ्रष्टाचार गरेको पाइएमा दण्डनीय हुने र सजाय भोग्नु पर्ने समेत थापाले प्रष्ट पारे ।