संक्रमणकालीन न्याय विषयमा छ्लफल गर्न सोमबार शीर्ष नेताहरु बैठक बस्ने

काठमाडौं: सरकारले संक्रमणकालीन न्यायका बारेमा अवरुद्ध प्रक्रिया अघि बढाउने भएको छ ।

संक्रमणकालीन न्यायकाको तयारीस्वरूप प्रमुख दलका शिर्ष नेताहरूबीच सोमबार अपरान्ह बैठक डाकिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेलका अनुसार, बैठकको मूल एजेन्डा संक्रमणकालीन न्यायकै विषयवस्तुमा केन्द्रित हुनेछन् ।

खरेलले भने- ‘यसअघि सर्च कमिटि गठन भएपछि काम हुन सकेन, त्यसको म्याद सकिएपछि सबै प्रक्रिया अवरुद्ध छ,’ पूर्वमहान्यायाधीवक्ता समेत रहेका , ‘अस्ति जहाँबाट प्रक्रिया रोकिएको थियो, त्यसलाई अघि बढाउनेबारे छलफल गर्न बैठक डाकिएको हो । बाँकी कुरा उहाँहरूले अघि बढाउनुहुन्छ होला।‘

संक्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधनपछि सरकारले सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका अध्यक्ष र सदस्यहरू छनोट गर्न समिति गठन गरेको थियो ।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको समितिले आवेदन आह्वान गर्ने, सूची बनाउने र आवेदकहरूसँग अन्तर्वार्ता गर्ने लगायतका प्रक्रिया पूरा गरेपनि उनीहरूको नाम सिफारिस गर्न सकेको थिएन ।

कुनै निर्णय गर्न नसकेका बेला समितिको म्याद सकिएपछि सबै प्रक्रिया अवरुद्ध भएको थियो । ‘संक्रमणकालीन न्याय छिटो टुंग्याउने विषय हो, यसलाई लम्ब्याउनु हुँदैन भन्नेमा सबै नेताहरु एकमत देखिनुहुन्छ,’ खरेलले जनाए, ‘तर त्यो समितिको म्याद सकिएपछि अरू प्रक्रिया अघि नबढेकाले प्रक्रिया अवरुद्ध भयो, त्यसलाई गति दिनुपर्छ भनेर बैठक बोलाइएको हो ।’

कुनै एजेन्डा तय नभएपछि सोमबारको बैठकमा अर्को समिति गठन र सोही विषयमा छलफल हुने खरेलले जानकारी दिएका छ्न् ।