काठमाडौं: स्वास्थ्य बीमा बोर्डका अध्यक्ष चन्द्रबहादुर थापाले पदबहाली गरेका छन्।
थापाले बुधबार दिउँसो बबरमहलस्थित स्वास्थ्य बीमा बोर्डको कार्यालयमा पुगेर पदबहाली गरेका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गत सोमबार रिक्त अध्यक्ष पदमा थापालाई चार वर्षका लागि नियुक्त गरेका हुन्।
थापाले मंगलबार नै पद तथा गोपनियताको सपथ लिएका थिए। उनले यसअघि बोर्ड सदस्यको रुपमा तीन वर्ष काम गरेका छ्न् ।
उनले पदवहालीसँगै स्वास्थ्य बीमा थप प्रभावकारी बनाउन आफू लागिपर्ने बताए। यसअघि बोर्ड सदस्यका रुपमा रहँदा महशुस गरेका विषयबाट त्यसको सुरुवात गर्ने उनको भनाइ छ।
उनले स्वास्थ्य बीमा कार्यक्रम सफल बनाउन औपचारिक क्षेत्रलाई समेट्नुपर्नेमा जोड दिए। साथै उनले स्वास्थ्य बीमा सफल भएका देशमा औपचारिक क्षेत्रबाट सुरु भएको तर नेपालमा उल्टो जस्तो भएको बताए।
उनले स्वास्थ्यमा छरिएका कार्यक्रमलाई एकद्वारा नीतिबाट अघि बढाउने पनि उल्लेख गरे। बीमा कार्यक्रम अहिले समस्याग्रस्त रहनुमा आर्थिक एउटा पक्ष रहेको बताए।
त्यस्तै उनले आगामी दिनमा जनशक्ति व्यवस्थापन र डिजिटलाइजेसनमा पनि जोड दिनुपर्ने बताएका छन्।


















