मंगलबारदेखि त्रिभुवन विमानस्थल दैनिक १८ घण्टा खुल्ने

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक १८ घण्टा खुल्ने भएको छ ।

यसअघि विमानस्थलमा विभिन्न मर्मतको काम जारी रहँदा दैनिक १४ घण्टामात्र खुल्ने गरेको थियो ।

विमानस्थल व्यवस्थापनले २३ कात्तिकदेखि दैनिक १० घण्टा विमानस्थल बन्द गरी भौतिक संरचना निर्माण हुँदै आएको थियो ।

त्यससमयमा विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा थियो । तर अब आउदो मंगलबार देखि भने विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म खुला रहने त्रिभुवन विमानस्थले जनाएको छ ।

विमानस्थलका अनुसार , ट्याक्सी–वेलाई धावनमार्गसँग जोड्ने लिंक वेको निर्माण सम्पन्न भएको छ, तर समानान्तर ट्याक्सी वे निर्माणको काम भने जारी नै रहने छ ।

यद्यपि, त्यसले उडान रोक्नु पर्ने अवस्था भने नरहने बिमानस्थले बताएको छ ।

विमान स्थलको धावनमार्गबाट ७५ मिटर दायाँबायाँ संरचना निर्माणको काम हुँदा उडान रोक्नुपर्छ ।

जहाज अवतरण तथा उडान गर्ने क्षेत्र आसपास निर्माण सामग्री राख्न नहुने र खाल्डाखुुल्डी समेत पार्न नहुने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मापदण्ड रहेको छ ।