काठमाडौं: राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशमा हिन्दुराष्ट्र र राजसंस्था स्थापनाका निम्ति माहोल बनेको बताएका छन् ।
आज काठमाडौंमा आयोजित प्रदर्शनमा उनले ‘अन्तिम धक्का’ आवश्यक रहेकामा जोड दिए ।
उनले भने- “हिन्दुराष्ट्र र राजसंस्था स्थापना हुने माहोल बन्दै गइरहेको छ । जनता स्वस्फूर्त आइरहेका छन् । हाम्रो संगठनात्मक प्रयासबाट भन्दा पनि एकातिर गणतन्त्र पक्षधरको असफलता र अर्कोतर्फ हिन्दुराष्ट्र र राजसंस्थाको लोकप्रियताले गर्दा माहोल तयार भइसकेको छ । अन्तिम धक्काको मात्रै आवश्यकता छ।”
उनले गणतन्त्रवादीले राज्यशक्तिको दुरुपयोग गरेको, हिन्दुराष्ट्र र राजसंस्था पक्षधरलाई दबाउन खोजेको आरोप लगाए । आफूहरूले निरंकुश व्यवस्था नभनेको उनले जिकिर गरे ।
उनले आफूहरू राजासहितको प्रजातन्त्रको मान्यतामा रहेको बताए । जनताका अनुहारमा हाँसो ल्याउन सके मात्र मूल्य-मान्यताको रक्षा हुने उनको भनाइ थियो ।
उनले पूर्वराजाको बदनाम गरिएको, राजसंस्था समर्थक नेता-कार्यकर्तामाथि झुटा मुद्दा लगाइएको बताए । विचारलाई निषेध गर्ने गरी कानुन बनाउन लागेको भन्दै उनले आपत्ति पनि जनाए ।


















