काठमाडौं: प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ ।
बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदले उठेर विरोध जनाएका थिए । प्रतिपक्षको विरोधपछि सभामुख देवराज घिमिरेले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए ।
सांसद पाण्डेले संसद्मा सोमबार दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गरिनुपर्ने बताए। शिक्षकहरु लामो समयदेखि सडक आन्दोलनमा रहेकामा उनीहरुका माग सम्बोधनका लागि पहल गर्न सोमबार पाण्डे प्रस्तावक रहनुभएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसद्मा दर्ता भएको थियो । उक्त प्रस्तावमाथि आजै संसद्मा छलफल चलाउन र समस्याको समाधान खोज्न पाण्डेले सभामुखमार्फत ‘रुलिङ’ माग गरे ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले आन्दोलनरत शिक्षकका जायज माग सम्बोधन गर्नका लागि सरकार गम्भीर रहेको दाबी गरे। शिक्षकहरुसँग तत्काल वार्ता गरी समस्याको समाधान गर्न र वार्ताबाटै विषय टुङ्गाउन आवश्यक रहेको उनले बताए । साथै आज साँझ सम्ममा निकास निस्कनेमा आफू आशावादी भएको पनि उनले उल्लेख गरे ।
सांसद प्रेम आलेले पोखरा र भैरहवा विमानस्थलमा भएको आर्थिक हिनामिनाको निष्पक्ष छानबिनको माग गरेका छ्न् ।
सांसद शोभा ज्ञवालीले देशका विभिन्न भागमा जङ्गली जनावरको आक्रमण बढेकामा चिन्ता व्यक्त गर्दै समस्याको समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइन् ।
त्यस्तै, बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदन सहितको भन्सार विधेयक, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । उक्त विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव पनि आजै प्रस्तुत हुनेछ ।
कार्यसूचीअनुसार कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले ‘कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने छ्न् ।


















