अमेरिका :अमेरिकाको लस एन्जलसमा गत मंगलबारदेखि लागेको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।
आगलागीमा परेर अहिलेसम्म कम्तिमा २४ जनाको मृत्यु भएको छ भने कम्तीमा २३ जना हराइरहेका छन् । साथै लाखौं मानिस विस्थापित भएका छन् ।
समाचार संस्था एएफपीका अनुसार आगो निभाउन हजारौं अग्निनियन्त्रक खटिएका छन् । तर पनि धेरै ठाउँमा आगो नियन्त्रणमा आउन सकेको छैन।
आगलागीपछि दुई लाख घरधुरीमा विद्युत् अवरुद्ध भएको छ।
क्यालिफोर्नियाका मौसमविद्हरूले अझै पनि तीव्र हावा चल्ने र त्यसबाट आगलागी झनै फैलिनसक्ने चेतावनी दिएका छन् ।
प्रारम्भिक अनुमानहरूमा ३७० खर्ब नेपाली रुपैयाँभन्दा बढी (२५० अर्बदेखि २७५ अर्ब डलर) को क्षति भएको छ ।
यो क्षति नेपालको बजेटको आकारभन्दा २० गुणा ठूलो हो । नेपालको बजेट करिब १९ खर्ब रूपैयाँ बराबरको छ ।
अग्निनियन्त्रकहरूले आगो निभाउने प्रयास जारी राखेका छन् । आगलागीमा परी ठूलो संख्यामा जनावरहरू पनि मरेका छन् ।














