काठमाडौंः भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सर बिरामी बालबालिकाको विशेष उपचारका लागि बाल चिकित्सा सघन एकाई स्थापना गरेको छ ।
सरकारले बाल क्यान्सर उपचार निःशुल्क गर्ने भनिए अनुरुप भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाई स्थापना गरिएको हो ।
वैशाख महिनाभित्र वार्ड सञ्चालनमा ल्याउने गरी अस्पतालले थालेको तयारी पूरा भए पछि सेवा शुरु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आइतबार बाल चिकित्सा सघन एकाईको उद्घाटनका गरेका हुन् ।
सेवा शुरुवात गर्दै मन्त्री पौडेलले भक्तपुर क्यान्सर अस्पताललाई उपचारमा नमूना बनाउँदै विदेश उपचारका लागि जाने संख्या घटाइने लक्ष्य राखिएको बताए ।
उनले भने-“अहिले पनि भारतमा विभिन्न उपचारका लागि जानेको संख्या उच्च छ,’ मन्त्री पौडेलले भने, ‘अस्पतालमा थप सुविधा बढाएर बिरामीले स्वदेशमै सुपथ उपचार पाउने वातावरण तयार पारिनेछ ।”
उनले बाल क्यान्सर उपचार निःशुल्क गराउँदा राज्यलाई थप भार नपर्ने गरी आन्तरिक श्रोतबाटै व्यवस्थापन गरिएको भन्दै सकेसम्म थप दायित्व नपर्ने गरी विभिन्न किसिमका उपचार सेवा सुधार तथा विस्तार भैरहेको बताए ।
उनले पहिलो निर्णय नै क्यान्सर नियन्त्रण रणनीति स्वीकृत गरेर गरेको भन्दै क्यान्सर उपचारलाई सहज र सुपथ बनाउन यथासम्भव काम गरिने बताए । यसपाली आउने बजेटमा समेत क्यान्सर नियन्त्रणलाई प्राथमिकतामा राखेको उनले बताए ।
भक्तपुर क्यान्सर अस्पतालमा थपिएको एकाइमा बालबालिकाको आइसीयुका ४, डे केयरका ४ तथा साधारण ७ शैय्या रहने निमित्त कार्यकारी निर्देशक डा. उज्वल चालिसेले जकारी गराए ।


















