५ महिनापछि खुल्यो हिमपातले अवरुद्ध लिमी–लाप्चा

काठमाडौंः हिमपातका कारण अवरुद्ध नाम्खा गाउँपालिका–६ स्थित लिमी–लाप्चा खण्डअन्तरगत न्यालु लेख खुलेको छ।

नाम्खा गाउँपालिका–६ वडाध्यक्ष पाल्जोर तामाङका अनुसार बाक्लो हिमपातले अवरुद्ध भएको ४,९९० मिटर उचाइमा रहेको न्यालुको सडक पूर्वाधार विकास कार्यालय हुम्लाले हिउँ पन्छयाएपछि खुलाएको हो ।

पुस, मंसिर महिना परेको बाक्लो हिमपातले न्यालु लेख बन्द भएपछि लिमी–लाप्चाबाट मानसरोवर कैलाश दूरदर्शन गर्न पर्यटकहरू र नाम्खा गाउँपालिका –६ का स्थानीयवासीलाई समस्या भएको वडाध्यक्ष तामाङले बताए ।

उनका अनुसार अब लिमी लाप्चा नेपाली भूमिबाट चीनमा रहेको मानसरोवर कैलाशको दूरदर्शन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई सहज भएको छ ।

वडानम्बर –६ को लिमीबाट गाउँपालिका केन्द्र र सदरमुकाममा सिमकोट आउजाउ गर्न पनि सहज भएको तामाङले बताए ।