काठमाडौं: अमेरिकाबाट डिपोर्ट भएका ३७ जनामध्ये एक जना डाइभरसिटी भिसा (डीभी) र एकजना अध्ययनका लागि अमेरिका पुगेका पुरुष रहेका छन् ।
प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले गरेको सोधपुछका क्रममा दुईजना १० वर्षअघि नै अमेरिकाको डीभी र विद्यार्थी भिसामा पुगेको खुलेको हो । तर उनीहरुले डिपोर्ट हुँदाको कारण भने खुलाएका छैनन् ।
यद्धपी आपराधिक गतिविधिमा संलग्नको आरोपमा फर्काएको अनुमान प्रहरीले गरेको छ ।
ब्युरोका एसपी नरेन्द्र कुवँरले एकजना डीभी र अर्का विद्यार्थी भिसामा १० वर्ष पहिलानै अमेरिका पुगेको खुलेको बताए । अमेरिकाबाट आइतबार ३२ पुरुष र पाँचजना महिला गरी ३७ जना डिपोर्ट भएर नेपाला फर्काइएको थियो ।
अमेरिकाले उनीहरूलाई ओम्नी एयर इन्टरनेशनलको विमान चार्टर गरेर नेपाल पठाएको हो ।
उनीहरूमध्ये पाँच महिलासहित ३० जना भने अवैध तरिकाबाट अमेरिका पुगेकाहरु छन् । उनीहरु अवैध बाटोमार्फत् अमेरिका पुगेका थिए । फर्किकाहरुमा केही सन् २०२२ र २०२५ मार्चमा अमेरिका पुगेकाहरू पनि छन् ।
डोनाल्ड ट्रम्पले राष्ट्रपतिको शपथ लिएपछि यसअघि अमेरिकाले १४० नेपाली डिपोर्ट गरिसकेको छ ।
आइतबार आइपुगेका ३७ जनासमेत जोड्दा अमेरिकाबाट डिपोर्ट भएर आउनेको संख्या १७७ पुगेको छ ।


















